नयाँदिल्लीमा एकैदिन ३ हजार ५०० प्रदर्शनकारी पक्राउ

नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोगको कार्यशैली र मतदाता सूचीमा कथित अनियमितताको विरोधमा प्रदर्शन गर्न खोजेका करिब ३ हजार ५०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) ले शनिबार जन्तरमन्तरमा आयोजना गरेको प्रदर्शन रोक्न दिल्लीमा करिब ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रहरीले प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न नदिन विभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था र बहुस्तरीय अवरोध खडा गरेको थियो ।

प्रदर्शनमा सहभागी हुन दिल्ली आएका सीजेपीका नेता अभिजित दीपके, सौरभ दास र आशुतोष रांकालाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

उनीहरूलाई बिहानै नियन्त्रणमा लिएपछि पार्टीले आन्दोलनको नेतृत्व अजिंक्य शिन्देले गर्ने जनाएको थियो ।

प्रदर्शनकारीले जन्तरमन्तर पुग्न विभिन्न मार्गबाट प्रयास गरेका थिए । तर प्रहरीले ३–५ तहसम्मका अवरोध खडा गरी उनीहरूलाई रोकेको थियो । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो । आकाशवाणी भवननजिक प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा २ प्रहरी घाइते भएको समाचारमा जनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *