Category: अन्तर्राष्ट्रिय

  • प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च

    प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च

    काठमाडाैँ– शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ ।

    यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

    इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो ।

    यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ ।

    गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो । यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो ।

    कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म पनि मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताए ।

    तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ ।

    एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो । यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउन सक्छ ।

    यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ ।

  • अमेरिकामा महँगियो डिजेल, ट्रम्पले भारतलाई दिएका छन् १०० प्रतिशत करको धम्की

    अमेरिकामा महँगियो डिजेल, ट्रम्पले भारतलाई दिएका छन् १०० प्रतिशत करको धम्की

    वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल खरिदमाथि लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्मका लागि हटाएका छन्।

    अब अमेरिकाले रुसबाट डिजेल किन्न सक्नेछ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएको थियो।

    इरान युद्धपछि अमेरिकामा डिजेलको मूल्य बढेका बेला यो निर्णय भएको हो। अहिले त्यहाँ डिजेल प्रतिग्यालन करिब ६.२८ डलरमा बिक्री भइरहेको छ। युद्धअघि यसको मूल्य करिब ३.७० डलर थियो।

    अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुँदैछ। इन्धनको बढ्दो मूल्य ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ। मूल्य घटाउन ट्रम्पले तेल र डिजेलको आपूर्ति बढाउनेजस्ता कदम चालिरहेका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यस निर्णयप्रति असन्तुष्टि जनाएका छन्। यसबाट रुसले पैसा पाउने र त्यो युक्रेनविरुद्धको युद्धमा खर्च हुने उनको भनाइ छ।

    सेप्टेम्बरमै ट्रम्पले रुसबाट तेल किन्ने भारत र चीनजस्ता देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सकिने कानुनमा हस्ताक्षर गरेका थिए।

    रुसी राष्ट्रपति पुटिन १५ अगस्ट २०२५ मा अमेरिकी राज्य अलास्का पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति ट्रम्पसँग युक्रेन युद्ध अन्त्यबारे वार्ता गरेका थिए।

  • नयाँदिल्लीमा एकैदिन ३ हजार ५०० प्रदर्शनकारी पक्राउ

    नयाँदिल्लीमा एकैदिन ३ हजार ५०० प्रदर्शनकारी पक्राउ

    नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोगको कार्यशैली र मतदाता सूचीमा कथित अनियमितताको विरोधमा प्रदर्शन गर्न खोजेका करिब ३ हजार ५०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले शनिबार जन्तरमन्तरमा आयोजना गरेको प्रदर्शन रोक्न दिल्लीमा करिब ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    प्रहरीले प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न नदिन विभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था र बहुस्तरीय अवरोध खडा गरेको थियो ।

    प्रदर्शनमा सहभागी हुन दिल्ली आएका सीजेपीका नेता अभिजित दीपके, सौरभ दास र आशुतोष रांकालाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

    उनीहरूलाई बिहानै नियन्त्रणमा लिएपछि पार्टीले आन्दोलनको नेतृत्व अजिंक्य शिन्देले गर्ने जनाएको थियो ।

    प्रदर्शनकारीले जन्तरमन्तर पुग्न विभिन्न मार्गबाट प्रयास गरेका थिए । तर प्रहरीले ३–५ तहसम्मका अवरोध खडा गरी उनीहरूलाई रोकेको थियो । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो । आकाशवाणी भवननजिक प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा २ प्रहरी घाइते भएको समाचारमा जनाइएको छ ।