Category: समाचार

  • एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता

    एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता

    ललितपुर- सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई सोमबारदेखि फिर्ता बोलाएको छ।

    एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबार बिहानैदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको हो।

    यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी भएको थियो।

    आगजनीबाट क्षति पुगेको कार्यालयको एमालेले पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याएको थियो।

    कार्यालयको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत तैनाथ थिए। एमाले केन्द्रीय कार्यालयनजिकै जनपथ प्रहरीको चौकीसमेत रहेको छ।

    जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रहरीका हतियारसमेत हराएका थिए।

    त्यसपछि गरिएको खोजीका क्रममा एमाले केन्द्रीय कार्यालयबाट प्रहरीको एक थान पेस्तोल फेला परेको थियो।

  • वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण

    वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण

    काठमाडाैँ- २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिएको छ।

    मदन पुरस्कार गुठीले पुरस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गर्दै आएको छ।

    मदन पुरस्कार गुठीको गत २१ भदौमा बसेको साधारण सभाले जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

    उक्त निर्णयअनुसार आइतबार दुवै पुरस्कार सम्बन्धित लेखक र कृतिलाई अर्पण गरिएको हो।

    जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ को सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ।

    यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ मा समावेश गरिएको थियो।

    श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ परेका थिए।

    त्यस्तै, छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई २०८२ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ।

    मदन पुरस्कार र जगदम्बा–श्रीको इतिहास

    २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा तीन विधामा प्रदान गरिएको थियो।

    गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकले पुरस्कार पाएका थिए।

    त्यस्तै, रानी जगदम्बाको २०४५ सालमा निधन भएपछि उहाँको स्मृतिमा जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक गायक नारायण गोपाललाई प्रदान गरिएको थियो।

    नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको विकासमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री प्रदान गरिँदै आएको छ।

    मदन पुरस्कार भने नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरिएको पुस्तकलाई प्रदान गरिन्छ।

  • गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’ : केपी ओली

    गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’ : केपी ओली

    काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी र कमरेड भन्दै नजिकिनेहरूबाटै धोका हुने गरेको टिप्पणी गरेका छन्।

    उनले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि नझुक्ने बताएका छन्।

    पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आइतबार काठमाण्डुको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै साथी जस्तो लाग्ने व्यक्तिले पनि पछाडिबाट छुरा हान्ने गरेको बताए।

    ‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, तर ग्याम्म छुरी हान्छ। यो पनि देखियो। कता जोगिने, कता नजोगिने ?’, उनले गुनासोसहित भने।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नजिकको सम्बन्ध देखाएर अँगालो हाल्नेहरूबाट समेत धोका हुन सक्ने भन्दै आफूले यस्ता अनुभव भोगेको संकेत गरे।

    आफूविरुद्ध अनेक प्रहार भए पनि विचलित नहुने बताउँदै ओलीले भीष्म पितामहको प्रसंगसमेत उल्लेख गरे। आफू अझै कमजोर नभएको र चुनौतीसँग नडराउने उनको भनाइ थियो।

    ओलीले आफ्नो राजनीतिक यात्रा ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानबाट सुरु भएको स्मरण गरे।

    राजनीतिक जीवनमा जेल बस्नुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले आफू निरन्तर संघर्षमा रहेको बताए।

    देश र जनताको हितका लागि काम गरेको दाबी गर्दै ओलीले बाँचुञ्जेल अन्याय र विरोधका सामु नझुक्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन। बाँचुञ्जेल वैरीसामु झुकिँदैन। देशका लागि लडिन्छ। मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु,’ उनले भने।

    ओलीले विश्वास गरेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितको ठूलो पंक्ति नेतृत्वबाट हटाउन लागेको सन्दर्भमा उनी विरक्तिएका हुन्।

    आफूलाई नजिकको ठान्नेहरूबाटै धोका पाएको गुनासो गरेका उनले अझै नेतृत्वबाट दायाँबायाँ नहुने रटान लगाएका हुन् ।

    उनले यसरी रोष प्रकट गरिरहँदा मञ्चमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलसहितका कोही पनि नेता थिएनन्।

  • पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

    पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

    काठमाडाैँ –पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।

    बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै उनले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।

    निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा पूर्वराजा शाहबाट यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निधो भएको जानकारी दिइएको छ।

    सूचनामा गत भदौ १० गतेको हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौं मानिस विस्थापित हुनुका साथै सयौंको दुःखद निधन भएको उल्लेख छ।

    विपत्तिबाट ठूलो जनधनको अपूरणीय क्षति भएको भन्दै यस्तो असहज परिस्थितिलाई ध्यानमा राखेर दशैं सादगीपूर्वक मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ।

    ‘आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादशैं पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ,’ सूचनामा भनिएको छ।

    सचिवालयका अनुसार यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रमसमेत रहने छैन।

  • बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    काठमाडाैँ – गोरखाको चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ ।

    गोरखका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।

    उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

  • सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

    सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

    कर्णाली – सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

    विशेष सूचनाका आधारमा असोज २३ गतेका दिन पञ्चपुरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरीक्षक भूपेन्द्र शाहीसहित मातहत इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सुर्खेतस्थित सान्नेघारीको जङ्गलमा लुकाइछिपाइ राखेका अवस्थामा ५ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

    त्यसैगरी अस्थायी प्रहरी चौकी लगामबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–१ सुर्खेत धामिसेनस्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा १२ थान र प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका–१ सुर्खेतस्थित ज्यामिरेको जङ्गलमा लुकाइछिपाइ राखेको १ थान भरुवा बन्दुक गरी जम्मा १८ नाल भरुवा बन्दुक फेला पारेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार फेला पारिएका भरुवा बन्दुक रितपूर्वक बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

  • हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    काठमाडाैँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्व इतिहासको व्याज खान आएको नभई आफैँ इतिहास रच्न आएको बताएका छन् ।

    पार्टी महाधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाले भने, ‘हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ ।’

    अब कांग्रेसले बोलेर नभई काम गरेर देखाउनुपर्ने उनले बताए । ‘हामीले बोलेर हुँदैन, काम गर्नुपर्छ । कांग्रेस भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छ,’ उनले भने, ‘कांग्रेसको कुनै व्यक्तिलाई लागेको दाग व्यक्ति आफैँले मेट्नुपर्छ । देशका सानो मान्छेलाई जस्तो कानून लाग्छ, ठूलोलाई पनि त्यस्तै कानून लाग्नुपर्छ ।’

    कांग्रेस कहाँ उभिएको छ भन्ने कुरा कर्मबाट देखिने उनले बताए । ‘हाम्रा निर्णय र कर्मबाट कहाँ उभिएका छौँ भन्ने प्रस्ट पार्नुपर्छ, हामी हिजोका भारी बिसाएर नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तत्कालका फाइदा र निजी लाभ, आचारण र नैतिकताका सन्दर्भमा विगतका तमाम फोहोर फ्याकेर आएको कांग्रेस हो । विगतका राजनीतिक मूल्य बोकेर जानेछौँ ।’