Category: समाचार

  • अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    काठमाडाैँ –  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चन हटेको बताएकी छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश मंगलबार जारी गरेसँगै सुकुम्वासी समस्या समाधानका लागि कानुनी बाटो खुलेको मन्त्री रावलले बताएकी हुन्।

    ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चनहरू अब हटेका छन्। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएसँगै समाधानको बाटो खुलेको छ,’ उनले भनेकी छन्।

    मन्त्री रावलका अनुसार वन, मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनी प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्यालाई सम्बोधन गर्न पनि छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ।

     

  • राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    काठमाडाैँ – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् ।

    जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

  • जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ

    जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ

    काठमाडाैँ- गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

    उदयपुरको कटारी नगरपालिका-७ घर भएका २७ वर्षीय सुवारु थारु दनुवारलाई प्रहरीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरेको हो।

    ललितपुर प्रहरी परिसरका अनुसार गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट भागेर फरार भएका थिए।

    त्यसअघि नै जबरजस्ती करणी मुद्दामा उनलाई १८ वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ पर्दा उनले अझै १२ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले उनलाई पक्राउ गरी बाँकी कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ।

    जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गर्ने अभियानअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हो।

  • महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्।

    घटनालाई लिएर आफ्नै पार्टीका सांसददेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले आलोचना गरेका छन्।

    सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारको भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको बताइएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

    अडियोमा सुनिने भाषा अत्यन्तै आपत्तिजनक र महिलाप्रति अपमानजनक रहेको भन्दै सुनारमाथि प्रश्न उठाइएको छ। घटनापछि उनीमाथि कारबाही गर्नुपर्ने र सांसद पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

    विवाद चर्किएपछि सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको फोन स्विच अफ रहेको बताइएको छ। उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छैनन्।

    रास्वपाभित्रै असन्तुष्टि 

    सुनारको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाकै सांसदहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

    रास्वपा सांसद ज्वाला संग्रौलाले फेसबुकमा लेखेकी छन्, ‘अश्लील .. सुन्नै नसकिने।’ त्यस्तै, रास्वपा सांसद राजीव खत्रीले लेखेका छन्, ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी, उस्तो भरनी।’

    आफ्नै दलका सांसदहरूबाट आएको प्रतिक्रियाले पनि सुनारको भनिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र असहजता देखिएको छ।

  • बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे

    बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे

    काठमाडाैँ– बडादसैँ नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

    दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।

    काठमाण्डु उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्ममा (२४ घण्टा) ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।

    उनका अनुसार फर्पिङ नाकाबाट ५ हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन् ।

    दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।

    “दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाण्डु आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने । असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।

    महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

    दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    काठमाडाैँ – नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ ।

    देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।

    मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।

    चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए।

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने बताइन्छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यी नै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

  • विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    काठमाडाैँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

    अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

    नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरेका थिए।

    यता, ओमानले पनि शुक्रबार क्यानडालाई हराएको थियो। ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। त्यसैले अब नेपालका लागि बाँकी खेल ओडीआई हैसियत जोगाउने दृष्टिले महत्वपूर्ण बनेका छन्।

    लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको माथिल्लो स्थानमा छ।

    शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई रहनेछन्।

    अब लिग–२ मा नेपालले पाँचौं वा छैटौं स्थानमध्ये एकमा रहेर प्रतियोगिता टुंग्याउने सम्भावना छ। ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक भइसकेको छैन ।

  • कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

    कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

    चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन् ।

    चितवन उद्योग संघको ३५औँ वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट व्यहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताइन् ।

    उद्योगी व्यवसायीहरूले कानुनी अस्पष्टताका कारण झन्झट व्यहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, ‘प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।’ देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रष्ट पारिन् ।

    त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा के–के सुधार गर्नुपर्छ भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् ।

     

    लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् ।

    कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भनिन्, ‘अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्‍यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।’

    बिना तयारी कानुन संशोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उनले थपिन्, ‘थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।’

    ‘फाष्ट ट्रयाक’बाट कानुन निर्माण गर्न पनि ६–८ महिना लाग्ने भन्दै उनदले अब कानुन निर्माणको चरणमा पुगेको बताइन् ।

    कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुन:स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष भिम घिमिरे, चितवन उद्योग संघका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

  • बिम्स्टेक सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

    बिम्स्टेक सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

    काठमाडाैँ– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । सोमबार मध्यान्न गृहमन्त्री गुरुङ भारत प्रस्थान गरेका हुन् ।

    उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत हिडेका हुन् ।

    बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा यही ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    दुई गृहमन्त्रीबीच १२ सेप्टेम्बरमा भेटवार्ता हुने छ । यस्तै भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा दुई देशबीचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

    बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। सम्मेलनले सदस्य राष्ट्रबीच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल गर्नेछ।

  • आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    काठमाडाैँ– बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीया सोमबार नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ ।

    शास्त्रमा ब्रह्मको अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।

    ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।

    पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् ।

    पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भई उनले देवर्षि नारदको उपदेशअनुसार महादेव स्वामी पाऊँ भनी कठिन तपस्या गरेकी हुन् । कठोर तपस्या गरेकै कारण उनको नाम ‘तपस्याचारिणी’ अर्थात् ‘ब्रह्मचारिणी’ रहन गएको हो ।

    तपस्याका क्रममा उनले एक हजार वर्ष फलफूल र सय वर्ष साग मात्र खाएर खुला आकाशमुनि घामपानी सहँदै जीवन निर्वाह गरेकी थिइन् । त्यसपछि तीन हजार वर्षसम्म जमिनमा झरेका सुकेका बेलपत्र खाएर तथा अन्त्यमा त्यो पनि त्यागेर निराहार तपस्या गरिन् । कठोर तपस्याले शरीर कमजोर भएपछि माता मेनकाले तपस्या त्याग्न आग्रह गरे पनि उनले साधना जारी राखिन् । उनको यस कठोर तपस्याबाट प्रभावित भई पितामह ब्रह्माले प्रसन्न हुँदै कसैले गर्न नसकेको तपस्या पूरा भएको र छिट्टै महादेवलाई पतिको रूपमा पाउने वरदान दिएका थिए ।

    तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ । ज्योतिषी दुर्गा भण्डारीका अनुसार यो साधना विद्यार्थी, साधक र योगीहरूका लागि विशेष फलदायी मानिन्छ । ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख प्राप्त हुने शास्त्रीय विश्वास छ ।

    ब्रह्मचारिणीलाई सबै प्रकारका पूजा सामग्री, फलफूल, पकवान्न तथा पुष्पहरू प्रिय छन्।

    आजका दिन देवीलाई सख्खर चढाएर पूजाआराधना तथा दान गरेमा हरेक प्रकारको बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक मान्यता छ ।

    देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षता, अबिर, चन्दनका साथै दूध, दही, सख्खर, घिउ वा मह (पञ्चामृत)ले स्नान गराई प्रसाद चढाउने विधान छ । त्यसपछि आचमन गराई पान, सुपारी, भेटी चढाएर प्रदक्षिणा गरिन्छ। कलश स्थापना गरी नवग्रह, दशदिक्पाल, नगर देवता र ग्राम देवताको पूजार्पछि देवीको हातमा फूल लिएर स्तुति गरिन्छ ।