अमेरिकामा महँगियो डिजेल, ट्रम्पले भारतलाई दिएका छन् १०० प्रतिशत करको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल खरिदमाथि लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्मका लागि हटाएका छन्।

अब अमेरिकाले रुसबाट डिजेल किन्न सक्नेछ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएको थियो।

इरान युद्धपछि अमेरिकामा डिजेलको मूल्य बढेका बेला यो निर्णय भएको हो। अहिले त्यहाँ डिजेल प्रतिग्यालन करिब ६.२८ डलरमा बिक्री भइरहेको छ। युद्धअघि यसको मूल्य करिब ३.७० डलर थियो।

अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुँदैछ। इन्धनको बढ्दो मूल्य ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ। मूल्य घटाउन ट्रम्पले तेल र डिजेलको आपूर्ति बढाउनेजस्ता कदम चालिरहेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यस निर्णयप्रति असन्तुष्टि जनाएका छन्। यसबाट रुसले पैसा पाउने र त्यो युक्रेनविरुद्धको युद्धमा खर्च हुने उनको भनाइ छ।

सेप्टेम्बरमै ट्रम्पले रुसबाट तेल किन्ने भारत र चीनजस्ता देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सकिने कानुनमा हस्ताक्षर गरेका थिए।

रुसी राष्ट्रपति पुटिन १५ अगस्ट २०२५ मा अमेरिकी राज्य अलास्का पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति ट्रम्पसँग युक्रेन युद्ध अन्त्यबारे वार्ता गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *