Blog

  • अष्ट्रेलियाका बोसिस्टो काठमाडाैँ गोर्खाजबाट एनपीएल खेल्दै

    अष्ट्रेलियाका बोसिस्टो काठमाडाैँ गोर्खाजबाट एनपीएल खेल्दै

    काठमाडाैँ – अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन् ।

    काठमाण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    बोसिस्टोले एनपीएलको अघिल्ला २ संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रिनेछन् ।

    काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलंकाका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।

    ३३ वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यू–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यू–१९ विश्वकप खेलेका थिए ।

    बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा १ हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।

  • परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर जनरलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर जनरलबीच भेटवार्ता

    काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।

    परराष्ट्रमन्त्री खनाल र मोस्टिनबीच अस्ट्रेलियाको क्यानबेरास्थित गभर्मेन्ट हाउसमा शिष्टाचार भेटवार्ता भएको हो ।

    भेटका क्रममा गभर्नर जनरल मोस्टिनले हालै भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति अस्ट्रेलियाको ऐक्यबद्धता पुनः व्यक्त गरिन् ।

    परराष्ट्रमन्त्री खनालले दुःख व्यक्त गरेको, ऐक्यबद्धता जनाएको तथा निरन्तर सहयोग गर्दै आएकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरे ।

    भेटवार्ताका क्रममा नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप पुष्टि गरिएको छ।

    आपसी सम्मान, साझा लोकतान्त्रिक मूल्य–मान्यता तथा दुई देशका नागरिकबीचको सुमधुर सम्बन्धमा आधारित नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको छ।

  • दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

    दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

    दुबई – विश्वप्रसिद्ध मिशेलिन गाइडको दुबई संस्करण २०२६ को समारोहमा नेपाली सेफ डिल्लीकुमार दाहाल सहभागी भएका छन् ।

    दुबईमा आयोजित समारोहमा विश्वभरका प्रतिष्ठित रेस्टुरेन्ट, सेफ तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।

    बुल्गारी रिसोर्ट दुबईका नेपाली सेफ दाहालले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला समारोहमा सहभागिता जनाएका हुन् । विश्वस्तरीय मञ्चमा नेपाली सेफको सहभागिताले नेपाली पाककला तथा आतिथ्य क्षेत्रमा कार्यरत नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय उपस्थितिसमेत देखाएको छ ।

    समारोहमा जापानी रेस्टुरेन्ट होसेकीले जापानी परम्परा, संस्कृति र पाककलामा आधारित विभिन्न परिकार प्रस्तुत गरेको थियो । सेफ दाहालका अनुसार कार्यक्रममा ब्लुफिन टुना कलर शाबु–शाबु, टेन्डर ब्रेज्ड अक्टोपस, हेयरी र्क्याब र स्वीट तामागोयाकी लगायतका परिकार प्रस्तुत गरिएको थियो ।

    दाहालका अनुसार होसेकी जापानी परम्परा र संस्कृतिमा आधारित प्रतिष्ठित परम्परागत जापानी सुसी रेस्टुरेन्ट हो । दुबईस्थित बुल्गारी रिसोर्टमा रहेको होसेकीलाई मिशेलिन गाइडले २०२६ को संस्करणमा एक मिशेलिन ताराले सम्मानित रेस्टुरेन्टका रूपमा सूचीबद्ध गरेको छ ।

    समारोहमा सहभागी हुँदाको अनुभव सुनाउँदै दाहालले मिशेलिन गाइडको अन्तर्राष्ट्रिय स्तरको समारोह प्रत्यक्ष अनुभव गर्ने अवसर विशेष रहेको बताए । आकर्षक प्रस्तुति, उत्कृष्ट आतिथ्य र विश्वस्तरीय खानाको विविधताले कार्यक्रमलाई थप स्मरणीय बनाएको उनको भनाइ छ ।

    उनका अनुसार मिशेलिन गाइड समारोह पाककला, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा उत्कृष्टता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय पहिचानको उत्सवका रूपमा स्थापित भएको छ ।

    मिशेलिन गाइडको दुबई संस्करण २०२६ मा ३८ प्रकारका खानाका परिकार समेटिएका १२२ रेस्टुरेन्ट समावेश छन् । यस संस्करणमा ३ मिशेलिन तारा सहितका २/२ तारा सहितका ४ र १ तारा सहितका १४ रेस्टुरेन्ट सूचीमा छन् ।

    विश्वस्तरीय पाककला मञ्चमा नेपाली सेफ दाहालको सहभागिताले नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय पाककला तथा आतिथ्य क्षेत्रमा बनाउँदै गएको पहिचानलाई समेत उजागर गरेको छ ।

  • हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    काठमाडाैँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्व इतिहासको व्याज खान आएको नभई आफैँ इतिहास रच्न आएको बताएका छन् ।

    पार्टी महाधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाले भने, ‘हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ ।’

    अब कांग्रेसले बोलेर नभई काम गरेर देखाउनुपर्ने उनले बताए । ‘हामीले बोलेर हुँदैन, काम गर्नुपर्छ । कांग्रेस भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छ,’ उनले भने, ‘कांग्रेसको कुनै व्यक्तिलाई लागेको दाग व्यक्ति आफैँले मेट्नुपर्छ । देशका सानो मान्छेलाई जस्तो कानून लाग्छ, ठूलोलाई पनि त्यस्तै कानून लाग्नुपर्छ ।’

    कांग्रेस कहाँ उभिएको छ भन्ने कुरा कर्मबाट देखिने उनले बताए । ‘हाम्रा निर्णय र कर्मबाट कहाँ उभिएका छौँ भन्ने प्रस्ट पार्नुपर्छ, हामी हिजोका भारी बिसाएर नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तत्कालका फाइदा र निजी लाभ, आचारण र नैतिकताका सन्दर्भमा विगतका तमाम फोहोर फ्याकेर आएको कांग्रेस हो । विगतका राजनीतिक मूल्य बोकेर जानेछौँ ।’