Category: सुरक्षा

  • गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    काठमाडाैँ– भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ ।

    बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका मन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहबिच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा २ देशबिचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।

    बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलनले सदस्य राष्ट्रबिच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल हुने गर्छ ।

  • उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ

    उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ

    काठमाडाैँ– काठमाण्डु उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानमा ९८ जना पक्राउ परेका हुन् ।

    पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाण्डुका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

    सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

    जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।

    पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

  • चोरी भएका ५० सवारीसाधन मोटरसाइकल र स्कुटरधनीलाई हस्तान्तरण

    चोरी भएका ५० सवारीसाधन मोटरसाइकल र स्कुटरधनीलाई हस्तान्तरण

    काठमाडाैँ – काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर सम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरे ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डु उपत्यकास्थित नयाँबसपार्क, टोखा, नेपालटार, तारेभिर, बालाजु, बाफल, लैनचौर, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, लुभू, बोहोराटार, नयाँबस्ती, हनुमानस्थान, साँखु र सातदोबाटो लगायतका स्थानबाट सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

    सोमबार बुझाइएका ५० वटासहित साउन महिनामा २१३ वटा सवारीसाधन काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १८ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

    सवारीसाधन जिम्मा लिएपश्चात सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

    सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले अनुरोध गरे ।

    सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

  • प्रहरीको पहिचान आचरणले बनाउँछ : आईजीपी कार्की

    प्रहरीको पहिचान आचरणले बनाउँछ : आईजीपी कार्की

    काठमाडाैँ– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोगबाट प्रहरी संगठनको छवि बिग्रने भन्दै प्रहरी अधिकृतलाई जिम्मेवार, इमानदार र अनुशासित भएर काम गर्न निर्देशन दिएका छन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले जनताको सेवामा समर्पित प्रहरीले पदीय मर्यादा र व्यावसायिक निष्ठा कायम राख्नुपर्ने बताएका हुन् ।

    उनले भने सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,

    उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव तथा अधिकारको दुरुपयोगबाट प्रहरी सङ्गठन नै बदनाम हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरे ।

    प्रहरी नेतृत्व आदेशमा मात्र नभई आफ्नो व्यवहार र उदाहरणबाट स्थापित हुनुपर्ने उल्लेख गर्दै कार्कीले दीक्षित प्रहरी निरीक्षकहरूलाई जनताप्रति संवेदनशील भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

    उनका अनुसार सेवाग्राहीसँगको व्यवहार, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबल, अनुशासन, समुदायसँगको सम्बन्ध र कठिन परिस्थितिमा लिइने निर्णयले प्रहरी नेतृत्वको वास्तविक मूल्यांकन गर्छ ।

    “प्रहरीको पोसाकले परिचय दिए पनि आचरणले नेपाल प्रहरीको पहिचान बनाउँछ,” उनले भने, “प्रहरीको पदले अधिकार दिन्छ, तर चरित्रले त्यस अधिकारलाई वैधता दिन्छ । त्यसैले पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुँदैन ।”

    तालिम पूरा गरेसँगै प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने बताउँदै आईजीपी कार्कीले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भई निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए । प्रहरी निरीक्षकको पद दर्जा मात्र नभई निर्णय क्षमता र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उनको भनाइ थियो ।

  • बिम्स्टेक सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

    बिम्स्टेक सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

    काठमाडाैँ– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । सोमबार मध्यान्न गृहमन्त्री गुरुङ भारत प्रस्थान गरेका हुन् ।

    उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत हिडेका हुन् ।

    बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा यही ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    दुई गृहमन्त्रीबीच १२ सेप्टेम्बरमा भेटवार्ता हुने छ । यस्तै भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा दुई देशबीचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

    बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। सम्मेलनले सदस्य राष्ट्रबीच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल गर्नेछ।

  • चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्छ : आईजीपी कार्की

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्छ : आईजीपी कार्की

    काठमाडाैँ – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नजिकिँदै गरेको महान् चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान् चाडपर्वहरूको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले विशेष सुरक्षा योजनामा जोड दिए ।

    आईजीपी कार्कीले चाडपर्वहरूको समयमा हुने सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताए ।

    आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

    आईजीपी कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड दिए ।

    सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

  • आईजीपी कार्कीलाई किन बाेलायाे सर्वाेच्च अदालतले ?

    आईजीपी कार्कीलाई किन बाेलायाे सर्वाेच्च अदालतले ?

    काठमाडाैँ– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वाेच्च अदालतबाट बोलावट आएर प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् ।

    प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए । अपराह्न ४ बजे अदालत पुगेर आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग झण्डै १ घण्टा कुराकानी गरेका छन् ।

    प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि सर्वाेच्चले असन्तुष्टि जनाएको थियो । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका छन् ।

     

  • सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल हटाइए

    सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल हटाइए

    काठमाडाैँ- सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ।

    गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन कार्य तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको जनाएको छ।

    मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो।

    गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको र अनुशासनहीन काम गरेको उल्लेख छ।

    गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

    दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो ।

    मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।