Category: समाज

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    काठमाडाैँ – नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ ।

    देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।

    मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।

    चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए।

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने बताइन्छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यी नै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

  • चोरी भएका ५० सवारीसाधन मोटरसाइकल र स्कुटरधनीलाई हस्तान्तरण

    चोरी भएका ५० सवारीसाधन मोटरसाइकल र स्कुटरधनीलाई हस्तान्तरण

    काठमाडाैँ – काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर सम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरे ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डु उपत्यकास्थित नयाँबसपार्क, टोखा, नेपालटार, तारेभिर, बालाजु, बाफल, लैनचौर, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, लुभू, बोहोराटार, नयाँबस्ती, हनुमानस्थान, साँखु र सातदोबाटो लगायतका स्थानबाट सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

    सोमबार बुझाइएका ५० वटासहित साउन महिनामा २१३ वटा सवारीसाधन काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १८ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

    सवारीसाधन जिम्मा लिएपश्चात सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

    सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले अनुरोध गरे ।

    सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

  • आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    काठमाडाैँ– बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीया सोमबार नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ ।

    शास्त्रमा ब्रह्मको अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।

    ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।

    पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् ।

    पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भई उनले देवर्षि नारदको उपदेशअनुसार महादेव स्वामी पाऊँ भनी कठिन तपस्या गरेकी हुन् । कठोर तपस्या गरेकै कारण उनको नाम ‘तपस्याचारिणी’ अर्थात् ‘ब्रह्मचारिणी’ रहन गएको हो ।

    तपस्याका क्रममा उनले एक हजार वर्ष फलफूल र सय वर्ष साग मात्र खाएर खुला आकाशमुनि घामपानी सहँदै जीवन निर्वाह गरेकी थिइन् । त्यसपछि तीन हजार वर्षसम्म जमिनमा झरेका सुकेका बेलपत्र खाएर तथा अन्त्यमा त्यो पनि त्यागेर निराहार तपस्या गरिन् । कठोर तपस्याले शरीर कमजोर भएपछि माता मेनकाले तपस्या त्याग्न आग्रह गरे पनि उनले साधना जारी राखिन् । उनको यस कठोर तपस्याबाट प्रभावित भई पितामह ब्रह्माले प्रसन्न हुँदै कसैले गर्न नसकेको तपस्या पूरा भएको र छिट्टै महादेवलाई पतिको रूपमा पाउने वरदान दिएका थिए ।

    तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ । ज्योतिषी दुर्गा भण्डारीका अनुसार यो साधना विद्यार्थी, साधक र योगीहरूका लागि विशेष फलदायी मानिन्छ । ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख प्राप्त हुने शास्त्रीय विश्वास छ ।

    ब्रह्मचारिणीलाई सबै प्रकारका पूजा सामग्री, फलफूल, पकवान्न तथा पुष्पहरू प्रिय छन्।

    आजका दिन देवीलाई सख्खर चढाएर पूजाआराधना तथा दान गरेमा हरेक प्रकारको बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक मान्यता छ ।

    देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षता, अबिर, चन्दनका साथै दूध, दही, सख्खर, घिउ वा मह (पञ्चामृत)ले स्नान गराई प्रसाद चढाउने विधान छ । त्यसपछि आचमन गराई पान, सुपारी, भेटी चढाएर प्रदक्षिणा गरिन्छ। कलश स्थापना गरी नवग्रह, दशदिक्पाल, नगर देवता र ग्राम देवताको पूजार्पछि देवीको हातमा फूल लिएर स्तुति गरिन्छ ।

  • वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण

    वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण

    काठमाडाैँ- २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिएको छ।

    मदन पुरस्कार गुठीले पुरस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गर्दै आएको छ।

    मदन पुरस्कार गुठीको गत २१ भदौमा बसेको साधारण सभाले जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

    उक्त निर्णयअनुसार आइतबार दुवै पुरस्कार सम्बन्धित लेखक र कृतिलाई अर्पण गरिएको हो।

    जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ को सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ।

    यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ मा समावेश गरिएको थियो।

    श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ परेका थिए।

    त्यस्तै, छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई २०८२ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ।

    मदन पुरस्कार र जगदम्बा–श्रीको इतिहास

    २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा तीन विधामा प्रदान गरिएको थियो।

    गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकले पुरस्कार पाएका थिए।

    त्यस्तै, रानी जगदम्बाको २०४५ सालमा निधन भएपछि उहाँको स्मृतिमा जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक गायक नारायण गोपाललाई प्रदान गरिएको थियो।

    नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको विकासमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री प्रदान गरिँदै आएको छ।

    मदन पुरस्कार भने नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरिएको पुस्तकलाई प्रदान गरिन्छ।