Category: राजनीति

  • अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    काठमाडाैँ –  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चन हटेको बताएकी छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश मंगलबार जारी गरेसँगै सुकुम्वासी समस्या समाधानका लागि कानुनी बाटो खुलेको मन्त्री रावलले बताएकी हुन्।

    ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चनहरू अब हटेका छन्। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएसँगै समाधानको बाटो खुलेको छ,’ उनले भनेकी छन्।

    मन्त्री रावलका अनुसार वन, मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनी प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्यालाई सम्बोधन गर्न पनि छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ।

     

  • गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    काठमाडाैँ– भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ ।

    बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका मन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहबिच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा २ देशबिचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।

    बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलनले सदस्य राष्ट्रबिच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल हुने गर्छ ।

  • राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    काठमाडाैँ – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् ।

    जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

  • महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्।

    घटनालाई लिएर आफ्नै पार्टीका सांसददेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले आलोचना गरेका छन्।

    सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारको भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको बताइएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

    अडियोमा सुनिने भाषा अत्यन्तै आपत्तिजनक र महिलाप्रति अपमानजनक रहेको भन्दै सुनारमाथि प्रश्न उठाइएको छ। घटनापछि उनीमाथि कारबाही गर्नुपर्ने र सांसद पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

    विवाद चर्किएपछि सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको फोन स्विच अफ रहेको बताइएको छ। उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छैनन्।

    रास्वपाभित्रै असन्तुष्टि 

    सुनारको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाकै सांसदहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

    रास्वपा सांसद ज्वाला संग्रौलाले फेसबुकमा लेखेकी छन्, ‘अश्लील .. सुन्नै नसकिने।’ त्यस्तै, रास्वपा सांसद राजीव खत्रीले लेखेका छन्, ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी, उस्तो भरनी।’

    आफ्नै दलका सांसदहरूबाट आएको प्रतिक्रियाले पनि सुनारको भनिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र असहजता देखिएको छ।

  • एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता

    एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता

    ललितपुर- सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई सोमबारदेखि फिर्ता बोलाएको छ।

    एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबार बिहानैदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको हो।

    यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी भएको थियो।

    आगजनीबाट क्षति पुगेको कार्यालयको एमालेले पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याएको थियो।

    कार्यालयको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत तैनाथ थिए। एमाले केन्द्रीय कार्यालयनजिकै जनपथ प्रहरीको चौकीसमेत रहेको छ।

    जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रहरीका हतियारसमेत हराएका थिए।

    त्यसपछि गरिएको खोजीका क्रममा एमाले केन्द्रीय कार्यालयबाट प्रहरीको एक थान पेस्तोल फेला परेको थियो।

  • गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’ : केपी ओली

    गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’ : केपी ओली

    काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी र कमरेड भन्दै नजिकिनेहरूबाटै धोका हुने गरेको टिप्पणी गरेका छन्।

    उनले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि नझुक्ने बताएका छन्।

    पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आइतबार काठमाण्डुको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै साथी जस्तो लाग्ने व्यक्तिले पनि पछाडिबाट छुरा हान्ने गरेको बताए।

    ‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, तर ग्याम्म छुरी हान्छ। यो पनि देखियो। कता जोगिने, कता नजोगिने ?’, उनले गुनासोसहित भने।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नजिकको सम्बन्ध देखाएर अँगालो हाल्नेहरूबाट समेत धोका हुन सक्ने भन्दै आफूले यस्ता अनुभव भोगेको संकेत गरे।

    आफूविरुद्ध अनेक प्रहार भए पनि विचलित नहुने बताउँदै ओलीले भीष्म पितामहको प्रसंगसमेत उल्लेख गरे। आफू अझै कमजोर नभएको र चुनौतीसँग नडराउने उनको भनाइ थियो।

    ओलीले आफ्नो राजनीतिक यात्रा ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानबाट सुरु भएको स्मरण गरे।

    राजनीतिक जीवनमा जेल बस्नुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले आफू निरन्तर संघर्षमा रहेको बताए।

    देश र जनताको हितका लागि काम गरेको दाबी गर्दै ओलीले बाँचुञ्जेल अन्याय र विरोधका सामु नझुक्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन। बाँचुञ्जेल वैरीसामु झुकिँदैन। देशका लागि लडिन्छ। मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु,’ उनले भने।

    ओलीले विश्वास गरेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितको ठूलो पंक्ति नेतृत्वबाट हटाउन लागेको सन्दर्भमा उनी विरक्तिएका हुन्।

    आफूलाई नजिकको ठान्नेहरूबाटै धोका पाएको गुनासो गरेका उनले अझै नेतृत्वबाट दायाँबायाँ नहुने रटान लगाएका हुन् ।

    उनले यसरी रोष प्रकट गरिरहँदा मञ्चमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलसहितका कोही पनि नेता थिएनन्।

  • हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    हामी इतिहासको व्याज खान आएका होइनौँ : गगन थापा

    काठमाडाैँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्व इतिहासको व्याज खान आएको नभई आफैँ इतिहास रच्न आएको बताएका छन् ।

    पार्टी महाधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाले भने, ‘हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ ।’

    अब कांग्रेसले बोलेर नभई काम गरेर देखाउनुपर्ने उनले बताए । ‘हामीले बोलेर हुँदैन, काम गर्नुपर्छ । कांग्रेस भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छ,’ उनले भने, ‘कांग्रेसको कुनै व्यक्तिलाई लागेको दाग व्यक्ति आफैँले मेट्नुपर्छ । देशका सानो मान्छेलाई जस्तो कानून लाग्छ, ठूलोलाई पनि त्यस्तै कानून लाग्नुपर्छ ।’

    कांग्रेस कहाँ उभिएको छ भन्ने कुरा कर्मबाट देखिने उनले बताए । ‘हाम्रा निर्णय र कर्मबाट कहाँ उभिएका छौँ भन्ने प्रस्ट पार्नुपर्छ, हामी हिजोका भारी बिसाएर नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तत्कालका फाइदा र निजी लाभ, आचारण र नैतिकताका सन्दर्भमा विगतका तमाम फोहोर फ्याकेर आएको कांग्रेस हो । विगतका राजनीतिक मूल्य बोकेर जानेछौँ ।’