Category: खेलकुद

  • ओमानविरुद्ध नेपाल ११३ रनले विजयी, लिग-२ मा लगातार दोस्रो सफलता

    ओमानविरुद्ध नेपाल ११३ रनले विजयी, लिग-२ मा लगातार दोस्रो सफलता

    काठमाडाैँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

    नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटिएपछि नेपालले शानदार जित निकालेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा ओमानले नेपाली बलरहरूको कसिलो बलिङ सामना गर्न नसक्दा १५० रनमै सबै विकेट गुमायो।

    ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। जय ओडेड्राले २५ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

    नेपालको जितमा नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे।

    रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ
    त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

    ओपनर अर्जुन कुमालले ४० रन बनाए भने ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन जोडे। सन्दीप जोराले १० रन बनाए।

    अन्तिम क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतमा अविजित ४० रन बनाए। नन्दन यादव ७ रनमा अविजित रहे।

    नेपालले अन्तिम पाँच ओभरमा ५२ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

    ओमानका बलरमध्ये शाह फैसल, शकील अहमद र करण सोनावालेले समान २–२ विकेट लिए भने हसनैन शाहले १ विकेट हात पारे।

    लिग–२ मा नेपालको लगातार दोस्रो जित
    नेपालले यसअघि क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानले पनि आफ्नो अघिल्लो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो। लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका दुई टोलीबीच नेपालले बाजी मारेको हो।

    विश्वकप लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा रहँदा ओमान चौथो स्थानमा छ। प्रतियोगिताको शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन्। पुछारका दुई टोलीले भने मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

    ओमानमाथिको फराकिलो जितले नेपाललाई लिग–२ मा महत्वपूर्ण अंक दिलाएको छ। एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि आगामी खेलहरूमा पनि जितको लय कायम राख्नु महत्त्वपूर्ण हुनेछ।

  • विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    काठमाडाैँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

    अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

    नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरेका थिए।

    यता, ओमानले पनि शुक्रबार क्यानडालाई हराएको थियो। ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। त्यसैले अब नेपालका लागि बाँकी खेल ओडीआई हैसियत जोगाउने दृष्टिले महत्वपूर्ण बनेका छन्।

    लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको माथिल्लो स्थानमा छ।

    शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई रहनेछन्।

    अब लिग–२ मा नेपालले पाँचौं वा छैटौं स्थानमध्ये एकमा रहेर प्रतियोगिता टुंग्याउने सम्भावना छ। ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक भइसकेको छैन ।

  • रोहितको सतकमा नेपालले क्यानडालाई दियो २३५ रनको लक्ष्य

    रोहितको सतकमा नेपालले क्यानडालाई दियो २३५ रनको लक्ष्य

    काठमाडाैँ– रोहित पौडेलको सतकमा नेपालले क्यानडालाई २३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमिरातमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको हो ।

    नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रन जोडे । उनले १२७ बलमा ८ चौका र एक छक्का हान्दै १०१ रन बनाए । रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । यो उनको ओडीआई करियरको तेस्रो शतक हो ।

    यस्तै गुल्सन झाले ३४ बलमा ४८ रन जोडे भने अर्जुन कुमालले ५४ बलमा २३ रन , बशीर अहमदले ५७ बलमा ३० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

    क्यानडाका लागि शुखजिन्दर सिंहले ३ विकेट लिए भने अखिल कुमारले ३ र जाहिदले २ विकेट लिए ।

  • विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

    विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

    काठमाडाैँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आइतबार क्यानडासँग खेल्दैछ ।

    नेपाल र क्यानडाबीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक शृंखलाको पहिलो भेट हो। दुवै टोलीले यस शृंखलामा ओमानसँग पनि खेल्नेछन्। त्यसैले आइतबारको नतिजाले नेपाललाई अंक दिलाउने मात्र नभई शृंखलाका बाँकी खेलमा आत्मविश्वास बढाउने अवसर पनि हुनेछ।

    यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुई–दुई खेल खेल्नेछ ।

    यसमध्ये तीन खेलमा विजय जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

    लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्नेछ ।

    नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग–२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।

    नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा ३२ अंक पुग्न सक्छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भइसकेको छ ।

     

    स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

    चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३५ खेलबाट ३१ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३१ खेलबाट १९ अंकसहित आठौंमा छ ।

  • अष्ट्रेलियाका बोसिस्टो काठमाडाैँ गोर्खाजबाट एनपीएल खेल्दै

    अष्ट्रेलियाका बोसिस्टो काठमाडाैँ गोर्खाजबाट एनपीएल खेल्दै

    काठमाडाैँ – अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन् ।

    काठमाण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    बोसिस्टोले एनपीएलको अघिल्ला २ संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रिनेछन् ।

    काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलंकाका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।

    ३३ वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यू–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यू–१९ विश्वकप खेलेका थिए ।

    बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा १ हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।