Category: अर्थ/राेजगार

  • आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

    आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

    काठमाडाैँ–हिम पावर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

    पहिलो चरणमा २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

    सोहीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ।

    आयोजना प्रभावितमध्ये दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाका लागि १० लाख १४ हजार कित्ता शेयर निष्काशन गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

    त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुनेछ।

    आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

  • दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

    दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

    दुबई – विश्वप्रसिद्ध मिशेलिन गाइडको दुबई संस्करण २०२६ को समारोहमा नेपाली सेफ डिल्लीकुमार दाहाल सहभागी भएका छन् ।

    दुबईमा आयोजित समारोहमा विश्वभरका प्रतिष्ठित रेस्टुरेन्ट, सेफ तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।

    बुल्गारी रिसोर्ट दुबईका नेपाली सेफ दाहालले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला समारोहमा सहभागिता जनाएका हुन् । विश्वस्तरीय मञ्चमा नेपाली सेफको सहभागिताले नेपाली पाककला तथा आतिथ्य क्षेत्रमा कार्यरत नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय उपस्थितिसमेत देखाएको छ ।

    समारोहमा जापानी रेस्टुरेन्ट होसेकीले जापानी परम्परा, संस्कृति र पाककलामा आधारित विभिन्न परिकार प्रस्तुत गरेको थियो । सेफ दाहालका अनुसार कार्यक्रममा ब्लुफिन टुना कलर शाबु–शाबु, टेन्डर ब्रेज्ड अक्टोपस, हेयरी र्क्याब र स्वीट तामागोयाकी लगायतका परिकार प्रस्तुत गरिएको थियो ।

    दाहालका अनुसार होसेकी जापानी परम्परा र संस्कृतिमा आधारित प्रतिष्ठित परम्परागत जापानी सुसी रेस्टुरेन्ट हो । दुबईस्थित बुल्गारी रिसोर्टमा रहेको होसेकीलाई मिशेलिन गाइडले २०२६ को संस्करणमा एक मिशेलिन ताराले सम्मानित रेस्टुरेन्टका रूपमा सूचीबद्ध गरेको छ ।

    समारोहमा सहभागी हुँदाको अनुभव सुनाउँदै दाहालले मिशेलिन गाइडको अन्तर्राष्ट्रिय स्तरको समारोह प्रत्यक्ष अनुभव गर्ने अवसर विशेष रहेको बताए । आकर्षक प्रस्तुति, उत्कृष्ट आतिथ्य र विश्वस्तरीय खानाको विविधताले कार्यक्रमलाई थप स्मरणीय बनाएको उनको भनाइ छ ।

    उनका अनुसार मिशेलिन गाइड समारोह पाककला, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा उत्कृष्टता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय पहिचानको उत्सवका रूपमा स्थापित भएको छ ।

    मिशेलिन गाइडको दुबई संस्करण २०२६ मा ३८ प्रकारका खानाका परिकार समेटिएका १२२ रेस्टुरेन्ट समावेश छन् । यस संस्करणमा ३ मिशेलिन तारा सहितका २/२ तारा सहितका ४ र १ तारा सहितका १४ रेस्टुरेन्ट सूचीमा छन् ।

    विश्वस्तरीय पाककला मञ्चमा नेपाली सेफ दाहालको सहभागिताले नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय पाककला तथा आतिथ्य क्षेत्रमा बनाउँदै गएको पहिचानलाई समेत उजागर गरेको छ ।